१. अप्राप्य प्राप्तिभित्र पेशोक : एक संस्मरण
१९९२ जस्तो लाग्छ! खुब हर्षका साथ पेशोकवासीले ‘चोर और
चाँद’ छायाङ्कन हेरेका थिए। पूजा भट, आदित्य पञ्चाली कोको आएका थिए रे। धुमधाम होहल्लाले हाम्रो बालक मनलाई धेरै उत्साहित
बनाएका थिए। अनि अब चाहिँ आफ्नै सामु नायक नायिका देखिने भयो भन्ने उल्लासले
पुलकित भएका थियौँ। यस्तै ७-८ वर्षका हामीहरू।
गर्लाङको प्रथम अङ्ग्रेजी स्कुल ‘हिल बर्ड
इङ्लिश स्कुल’(Hill
Bird English School) मा म यस्तै २,३,कक्षामा पढ्थेँ। राम्ररी याद भएन। अरू सहपाठी/विद्यार्थीगण- रोशन शर्मा, सञ्जीब शर्मा, रञ्जीत शर्मा,
किरण शर्मा, विशाल गुरूङ, रञ्जीत गुरूङ(हाल दिल्ली), छोग्याल तामाङ, अर्मिना तामाङ, अजय गुरूङ, जितेन
थापा, योगेन थापा, पावन गुरूङ, विष्णु सुब्बा, ललिता राई, सञ्जु
राई, प्रमोद तामाङ, सरोज राई, विन्ध्या गुरूङ, गङ्गी तामाङ, जमुनी
तामाङ, रूना लकान्द्री, दर्पण गुरूङ,
रितेश राई, रेनिता राई, स्वास्तिका
गुरूङ, निशू गुरूङ प्रभृति (याद भएजति
नामहरू) थिए। हामी सानै भएका कारणले हेर्न जान मनाही भयो।
त्यस बेलाको पेशोक खुबै रमाइलो थियो। दार्जिलिङबाट पेशोक भएर यात्रा
गर्नेहरू यहाँका दृश्यहरू देखेर आनन्द मान्थे। कालेबुङ, सिक्किमबाट
पेशोक भएर दार्जिलिङ अनि खर्साङ जानेहरू पनि मनमोहक दृश्य हेर्दै यात्रा गर्न
पाउनाले हर्षित देखिन्थे/देखिन्छ।
टिस्टाबाट उकालो लागेपछि लूप (loop) भेटिन्छ। त्यो तल्तिरबाट आउनेलाई प्रथम आकर्षण हुन्छ। उकालोमा घुमाउरो
सडक पहाडे चालकहरूले खुबै कलात्मक ढङ्गमा गाडी कुदाएको देख्न पाउनु, त्यो बढो चाख लाग्दो हुन्छ। अनि त्यो पार गरेपछि साल, सयगुण घारी घुमाउरो सडक हुँदै अलिक मास्तिर पेशोक भ्यू पाँयन्ट् (Peshok View Point) छ। त्यो भ्यू पाँयन्ट्मा अहिले सानातिना पसल पनि पाइन्छ/पाउनुहुन्छ। वास्तवमा कुरा गर्न पर्दा
त्यो भ्यू पाँयन्ट् त्यसै बनाएको होइन! त्यसको पछि ठूलो रहस्य रहेको छ, भन्ने पाइन्छ।
त्यहाँ लेप्चा जातिका प्रेमी र प्रेमिकाको कारुणिक प्रेम कथाको रहस्य रहेको कारण त्यो बनाइएको हो, भन्ने
तथ्य पाइन्छ। अनि त्यस पाँयन्ट्बाट तल्तिर हेर्दा खुबै
मनमोहक टिस्टा र रङ्गितको दोभान देखिन्छ। त्यो दोभानमा
पानीका दुइवटा रङ्ग देखिन्छ। माथिबाट एकटक हेरिरहँदा त्यो दृश्यले एकतमासले
खिचिरहन्छ। अर्थात् आनन्दविभोर भइपठाउँछ। त्यसको दृश्याङ्कनपछि जङ्गल काटेर अलिक
माथि पेशोक डाकबङ्ला (Dark Bungalow) छ। त्यो डाकबङ्ला पनि एउटा पेशोकको हेर्न लायकको अनुहार नै हो। पहिले
त्यसको परिसरमा पनि चलचित्रको छायङ्कन हुन्थ्यो भन्ने पाइन्छ।
खासै भन्नु पर्दा पेशोकको उकालो (पारी कालेबुङबाट हेर्दा चियाबारीबीचमा साँप जस्तो देखिन्छ) प्राय
यात्रीहरूलाई याद रहेकै हुन्छ। त्यो उकालो अनाम सत्य भनेझैं अप्रसिद्ध भए पनि लोकप्रिय हुनुबाट वञ्चित छैन। त्यसरी उकालो उकालै
भएपछि अलिकति सास अड्याउने ठाउँ आइपुग्छ, पेशोक टी फ्याक्ट्री (Peshok Tea Factory)। अहिले त्यहाँ फ्याक्ट्री पाइन्न! त्यो फ्याक्ट्री सडकको भित्ताबाट टाँसेर निर्माण गरिएको थियो। ब्रिटिशको दिमाग र पहाडेको बल मिलाएर तयार पारिएको
जान्नमा आउँछ। दुई, तीन तला कति भएको जस्तो लाग्छ, राम्ररी याद छैन (साना छँदा स्कुल भागेर त्यहाँ आउने गर्थ्यौँ। त्यसैले
ठूलो हुँदासम्म त त्यो फ्यक्ट्री प्रायः तोडिसकेको थियो)। तर थियो खुबै आकर्षक
बडाबाउको नाक जस्तो, गाडी फनक्कै घुमेपछि ठकलक्क अगाडि नै
भेटिहाल्ने। त्यहाँबाट गाडीले निक्कै दुसाहस गरेपछि फेरि उकालो भएर पेशोक
सरस्वती उच्चमाध्यमिक स्कुल हुँदै घुम्तिको घुमाउरोलाई पार गरेर अफिस डाँडामुनि
बाट पारि नाम्ची बजार (Namchi Bazaar), बायाँपट्टि कञ्चनजङ्गा (Kanchenjunga) हुँदै १२ माइल पोखरीको मनमोहक दृश्य हेर्न
पाइन्छ(पोखरी पाइन्थ्यो)। त्यो पोखरी डाँडामा
निर्माण गरिएको थियो। जुन पोखरीको पानी तल फ्याक्ट्रीमा लाने गरिन्थ्यो। त्यो
फ्याक्ट्री र पोखरी ब्रिटिशकालीन थियो।
अनि त्यो दृश्यहरू हेर्दै-हेर्दै उकालो गर्लाङ फाटक (मेरो गाउँ जाने बाटो)
हुँदै लप्चु बजारमा (नयाँ बस्ती पनि भनिन्छ, पहिले त्यो पेशोकको अभिन्न अङ्ग थियो भन्ने कुरा ताह
लाग्छ) केही क्षण गाडीमा पानी हालेपछि पेशोक छाडेर जान्छन् सबै यात्रुहरू। अर्थात्
आ-आफ्ना गन्तब्यतिर।
कति कुरा सिधै भन्न पर्ने हुन्छ र कति कुरा भूमिका बाँधेर भन्न पर्ने
हुन्छ। त्यस्तै यस संस्मरणसँग ‘चोर और
चाँद’को पनि केही सम्बन्ध रहेको हुनाले त्यहीँबाट थालियो। त्यो अन्तिम
चलचित्रको छायाङ्कन जस्तो लाग्छ। त्यहाँदेखि यता पेशोकको परिस्थितिले सायदै त्यसो
हुन दिएन वा हुन पाएन।
त्यस समय पेशोकको अवस्था निकै गम्भीर थिएछ। घरि मेन गेटमा ताला
लाग्ने। घरि खर्च समयमा नपाउने, घरि रासन पानी नपाउने। घरि केके बहानाले श्रमीकहरूको
नै अत्याचार हुन्थे। दैनन्दिन त्यस्ता घटनाले मालिकको श्रमीकप्रति रहेको सामन्त
व्यवाहरले भनौँ या त मालिकवर्गलाई हुनपर्ने मुनाफा नपाउँदाको आक्रोशले हो। पेशोक
बन्द भयो। त्यसै साल भा-टकबार र पुटुङ पनि सायद बन्द भएका थिए।
कमान बन्द भएपछि श्रमीकमा देखिएको निराशपन र छटपटीको भयले अझै पनि
मलाई तर्साउँछ। हामीले इतिहासमा बङ्गालको अनिकाल पढेका मात्र हौँ। तर एक दिन एक
छाक नहुँदा कस्तो हुन्छ भन्ने यथार्थ दृश्य देखियो। त्यसरी कमान बन्दको दिनसँगै
मेरो उमेर पनि बित्दै जानथाल्यो। पेशोकवासीले कत्ति चाहिँ सहन गरोस् र आखिरमा
नहुनपर्ने कुरा भयो। बिस्तारै कमानका रूखहरू काटेर कसैले काठ बेचे कसैले दाउरा
बेचे। भएका सम्पत्ति सबै सकेपछि के गर्ने? त्यो ठूलो र सोचनीय प्रश्न हुँदै पेशोकवासीले भोग्न थाले। कत्तिले
चियाका गाछ फाँडेर खेती गर्न थाले। अनि त्यस खेतीबाट केही राहत पाउन थाले। कत्तिले
त्यही गाछलाई स्याहार सुसार गरेर हरियो पत्ति (green leaves) लाई घरमा ल्याइ आफ्नै
तरिकाले हाते चिया (home made) बनाएर बेच्ने गरे। अनि यहाँका
अग्रजहरूले चियाका गाछ सीमङ्कन गरी आफै स्याहारेर चियापत्ति टिपाइ अरू कमानसँग
सहमतिका साथ व्यापार पनि गरे। त्यसो गर्दा सबैलाई फायदा भएको थाह लाग्छ। यसरी
समस्या र परिस्थितिसँग जुझ्दै पेशोकवासीले जिउनुको अर्को विकल्प पनि सिके वा
सिक्ने मौका पाए भनौँ।
किनभने कमानको एक लगनी कामले मानिसलाई धेरै गुलाम बनाएको थिएछ।
अर्थात् बिहान उठेर हतारहतार गरेर कमान गयो अनि बेलुका फर्केर घरमा आइ फेरि त्यही
हतारको साथ खाइवरी सुत्यो। आउनु, जानु, खानु, सुत्नु र पारिश्रमिक जति तोकिएको छ त्यती थापेर जिवीका चलाउनु। यस्तो एकोहोरो जिन्दगीले
पेशोकवासीले अरू थोक के नै सोच्न सक्थ्यो र! ‘एक सोक एक भोक’ भनेजस्तो मात्र तर समयले भने विश्वबजारको चुनौतीलाई झन् झन् तगडा
बनाउँदै थियो। कमान बन्द भएपछि उनीहरूका आँखा खोले। बाहिरका संसार देखे। समस्याले
गर्दा देश पर्देश घुमे र परिवारलाई समस्याबाट राहत दिन सकभर कोसिस गरे। यसरी
पेशोकवासीले १२-१३ वर्ष सङ्घर्ष गरे।
त्यो १२-१३ वर्ष भनेको पेशोकवासीको लागि एउटा चेताउनी नै थियो। अनि
पेशोकवासीले हार पनि खाएन। परिश्रम गरेर आफ्नो पेट पाला गरे। कसैलाई ठग्ने काम
गरेको थाह छैन। गरेनन् पनि। इमान्दार र पसिनाको कमाइले नै परिवारको दुःख सुखमा साथ
दिए। अनि चियाबारी जत्तिको हरियाली अहिले देखिन्छ सायद त्यति बेला कहीँ गुना
हिरयाली थियो।
आज कमान चलेको ७-८ वर्ष हुँदैछ, सायद। त्यति बेलाको पेशोक जस्तो छैन आजको पेशोक।
पेशोकले धेरै ठूलो चुनौतीलाई पार गरेर आएको छ। अनि यसरी चुनौतीको पार गर्न सक्नु
भनेको खेलाँची होइन। यो चुनौती पार गरेर एउटा नयाँ पहिचान ल्यउन सक्नु पेशोकवासीको
प्राप्ती हो भने डाँडाको सुन्दर पोखरी र पूरानो फ्याक्ट्री नहुनु अप्राप्य
प्राप्ती। किनभने कमान चलिरहेको छ तर आफ्नो फ्याक्ट्री छैन। अनि फ्याक्ट्री नहुँदा त्यो पोखरी पनि हने होइन। अनि त्यो सब नभएपछि
पेशोकले पहिलेको जत्ति लोकप्रियता कमाउन सक्दैन। त्यो लोकप्रियता कमाउन नसक्नु
अप्राप्य प्राप्तिभित्रको पेशोक हो, मलाई लाग्छ।
तर एउटा सत्य के हो भने ‘ज्ञान नै
शक्ति हो’ भनेजस्तो शिक्षाको मूल
फुटाएर शिक्षित समाजको निर्माण गरेर फेरि त्यो कुराको कमीलाई पूरा गर्न सकिन्छ।
पेशोकवासीले गर्दै छन्।
२. इ- कुरा र कविता।
कुन सभ्यताभित्र पर्छ गाउँ? अन्योल छन् गाउँ, सभ्यता अनि गाउँले।
बालकपन, मन चाहेजति खेल्नु, रमाउनु, खानु, सुत्नु। पढ्! भन्दा, कलिलो बाहाना गर्नु। अस्सीको दशक थिएछ; गाउँमा नाटक हुन्थ्यो।
भजन किर्तन, नाच-गान अनि खुबै स्वास्थ्य वातावरण। शान्तिमय परिवेश एउटा चुल्बुले
दर्शक म।
स्मरण गर्छु, गाउँ धेरै छोडिएछ समयको यात्रामा। नव्वेको दशक पार गऱ्यो। ती कुरा
हुन छोडे; धेरै शिथिल बन्दै गए गाउँ। गाउँ निर्लज्ज छ। म, लेख्दैछु। गाउँको
एउटा परिवेश कालो माउरी जस्तो। जन्मन्छ मर्छ त्यसको केही प्रयोजन छैन।
यै परिवेशले मलाई विश्वविद्यालय चिनायो। त्यसैले विश्वविद्यालय आउनुको उत्सुक्ता
मभित्रको मान्छेले साह्रै आनन्द लिइरहेको थियो। सायद त्यो आनन्दले
मभित्रको मान्छेबाट एउटा कविता झिक्यो- ‘ढुङ्गामा
पलाएका खरूकी’ जुन नेपाली विभागका मासिक
भित्ते पत्रिका ‘साधना’ मा प्रेषित गरेको थिएँ।
त्यहाँ धेरै
यावाहरू भेटेँ जसबाट अझ मेरो सृजनात्मक क्षेत्र फष्टाउनमा प्रतिक्रिया बने र कविता कोर्नुको अर्कै मज्जा लिँदै आएँ। यसरी आनन्दभित्र पनि तनाव र द्वन्द्व मलाई खुब चाख लाग्यो। त्यो चाख
लाग्नु मेरो व्यवहारिक्ताले भोगिरहेको थियो कोल्टे समाजको डल्लो परम्परामा।
छैटौं इन्द्रिय नभएको प्राणी जता जाउ केही फरक पर्दैन तर भएको
प्राणीलाई जहिले पनि एउटो सिँडी ज्यादा उक्लनु हुन्छ। सपना देख्नु र रहर गर्नुमा
मैले गल्ति गरिन किनभने पुरा हुने सपनाले मलाई धेरै जका पुर्यायो अनि गर्नु सक्ने
रहरले इ-कुरा तर्फ
अग्रसर गरायो।
यहाँ मौलाएको शिक्षा, पौलाएको टेक्नलोजी र फष्टाएको संस्कारभित्र गाउँ इतिहासको पन्नामा
पढे जस्तो लाग्यो। अक्षर मेटिए जस्तो, धुलोले छोपिए जस्तो विन्यासक्रम नमिले जस्तो कल्पना र परिकल्पनाभित्र ‘गाउँ बेचिएको खबर’ लेखिँदिएँ। तरै पनि सृजनाले मलिलो, घमैलो केही भनेन बरू
अलिकति फराकिलो हुने एउटो ठाउँ इ-ब्गल ‘Disgustive pen’ तय गर्यो। त्यसले भएन किनभने जति आनन्द मलाई ‘पानी रोटी’ले दिन्छ
त्यति आनन्द ‘दोसा’, ‘पिजा’, ‘बर्गर’ले दिन सकेन।
वास्तवमा शान्ति र आनन्द ध्रुव सत्य हो भने झैं ‘पोजोक’ नेपाली भर्सन इ-ब्लगले
निकै ठूलो आनन्द दियो। निकै ठूलो क्षति, मभित्रको मान्छेबाट सृजनाले सुटुसुटु झिकिरह्यो। समय र परिवेशका
छिल्काहरू उप्किँदै गइरहेको छ विशृङ्खलतामा। ‘क’, ‘ख’, ‘ग’, मिलाउँदाको पीडा र
बिगार्दाको आनन्द मज्जाले लिँदैछु। हिजाज इ-कुराहरूमा।
अब कवितासँग खेल्ने आदत बसेछ। कुनिकिन साह्रै
खुलस्त छौँ कविता र म। जुनै पनि विषयले मलाई लुट्छ म, सजिलै कवितामा भनिदिन्छु। यसैमा रमाइ दिन्छु।
यसैले कविता मसँग धेरै नजिक छ। अरू कथा, निबन्ध, नाटक, उपन्यासभन्दा। तर यी कविताले समय र परिवेशभित्र
हुर्कँदै जाँदा धेरै प्रकारका विषय पाए। धेरै प्रकारका अनुभुति। जुन मैले सोँचे
जस्तो नलेखिएर बरू विषयले आफ्नै संरचना लिँदै गए। कति ठाउँ भावना
उछिट्टिएको होला, कति ठाउँ संरचना र कति ठाउँ भाषा तर यी कुरा भोगाइहरू हुन् हाम्रो
नेपाली समाजको।
चिरिच्याँट्ट पारिएको, छरितो। आकर्षित र पठनीय नहोला मेरा कविता।
यद्यपि मलाई मौकाले पटक-पटक आग्रह गरेको, समयले गोद्दै लगेको, आफ्नै गाउँले जिस्क्याइ रहेको। वरिपरिका
परिवेशले सुम्सुम्याइ रहेको अनि विशेष हामी नेपाली समाजभित्र रहेका कुनि कस्ता
परम्परा, संस्कार, संस्कृति र कुविचारले अमिल्याइएको मेरो अल्लारे
मस्तिष्क। तपाईंहरूलाई कस्तो रचना देला!
तर हो, यै कुराहरू मलाई मन नपरेको कविताले तपाईंहरूमा
प्रेषण गर्नेछ। पूर्ण रूपमा नहोला तर यी कविताहरू सहर्ष खेल्दै जानुहोस् नत्र यी
मेरा सृजना बलात्कृत
हुनेछ। कुदृष्टिबाट।
३. मलाई विदा नदिनु है...।
“Man is not made for death. A man can be destroyed but
not defeated.”- Ernest
Hemingway
मानिस मरेर बाँचोस् या बाँचेर मरोस्; उसको भोगाइहरू
उसँग छ। भू...गोल भनेर जब थाहा भयो, जीवन
चक्र यसरी नै चलिरहेछ। मानिस, खानलाई बाँचोस् या बाँच्नलाई
खाओस्; उसको भोक उसँग छ।
सृष्टी हुनु
भनेको अन्त्य हुनु हो... तब मानिसको अन्त्य निश्चित छ,
डराउने किन? कसैको बोझ बन्न हुँदैन , कसैलाई बोझ बन्न दिन हुँदैन। यथासक्य ‘धरतीको बोझ अन्नको दुस्मन’ पनि बन्न
हुँदैन। मानिसको पतन अवश्य हुन्छ तर जीवन हारेर मृत्यु पर्खिरहनु, कायरता हो; मान्छे हुनुको विडम्बना हो।
म अक्षरावस्थामा
थिएँ। मैले चोर बन्न परेको थियो! संसार नाटक भन्दैमा के त्यो
नाटक सम्झिनु?? इज्जत
त मेरो थियो संस्कार आमाबाबुको। यस्तै के...के... मेरो जीवनमा ‘?’ भएर बसे। सेतो चीजमा कालो दाग लागे
मेट्ने प्रयास नगर्नू- ‘राम्रो बन्ने सचेतले कला बिग्रन्छ’।
शिक्षा भनेको किताबी ज्ञानमात्र होइन, पत्यार नभए धुरन्धर
अर्थशास्त्री ‘चानक्य’लाई सोध्नू... ‘गाउँकी एउटी मातृ’बाट
कत्रो ठूलो शिक्षा पाएको थियो।
उच्च शिक्षा
हासिल गर्न आज म विश्वविद्यालयमा छु। दुई वर्षको अवधि, मैले
केवल पाठ्यक्रमका अक्षरहरूमात्र चपाइनँ। त्यस अतिरिक्त यहाँको परिवेशलाई
अन्तस्करणमा आश्रय दिएँ; यहाँको नीति घोलेर खाएँ, बन्धु बुझे अनि कतिकति अपच पनि भए।
सहपाठीहरूसँग
व्यङ्ग्य खेल्थेँ, मोज मस्ती अलिअलि गरेँ नत्र यहाँ सधुवादले
काम चल्दैन। कोही बेला उनीहरू धुँवामा संसार चियाउथे... कोही
बेला बोतलमा जिन्दगी खोजिरहन्थे। त्यस समय म, सिद्धान्त
चपाउने कोशिश गर्थेँ। उत्तर आधुनिक्तामा नाकडुबे हान्थेँ। समकालीनमा विम्ब
केलाउथेँ। एक दिन त, ‘किट्स’ चाप्दा रक्तचापले ग्रसित भएको
थिएँ। कोही बेला पात्र खोज्दै ‘ताराबारी’ र ‘बालसन’ पुग्थेँ।
यस्ता, अनेक थरिका कुराहरूले मलाई बाँधिरहेको छ; मानौँ म,
पिञ्जड़ामा छु। दत्तचित्त भएर कुनि के...के...
गर्न पनि पाएको छुइन। तर हिजो मेरो कान चिलाएको थियो, प्रथम वर्षका भाई-बहिनीहरूले अन्तिम वर्षका, हामीहरूलाई विदाइ दिने अठोट गरेका छन् रे! विदा
भनेको अन्तिम भेट हो... ‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेको
होइन।
यस
विश्वविद्यालयमा प्रवेश गर्दा स्वागत हुनु बडो भ्रम थिएछ नत्र आज आँसुले
आँखिझ्यालबाट आत्महत्या गर्ने थिएन। स्वागत गर्नु भनेको भोलि विदाइ निश्चित हुनु
हो। चौरासी सालमा मेरो स्वागत यमराजले गरेथ्यो अर्थात् मेरो अन्त्य निश्चत छ। भोलि
मेरो विदाइ हुनेछ, कहिले नफर्कने गरी। ती रमणीय क्षणहरू
बिर्सेर, अतीत, वर्तमान अनि भविष्यमा
लोप भएर। यसर्थ सत्य तितो हुन्छ, तिमीहरूबाट विदाइ चाहन्न।
तिमीहरूका आँखालाई दोषी ठहर्याउन चाहन्न... यहाँ जिन्दगीलाई
विडम्बना बनाउन चाहन्न। चाहन्न परम्परालाई यथावत राख्न। फेरि पनि भन्छु...।
४. मेरा कविताको श्रीगणेश
प्रायः
सबै कलाकार, साहित्यकार अनि अरू कोही पनि कुनै न कुनै वस्तु वा कसै न कसै अग्रजबाट
प्रभावित भएकै हुन्छन्। नहुने विरलै होलान्। म कसैबाट प्रभावित छुइनँ भन्नु पनि
अहम् मात्र हुन्छ होला।
यसैले आउनुहोस् मेरा कविताको श्रीगणेश कसरी भयो जान्नुहोस्।
नवौँ
श्रेणीमा हुँदाको कुरो हो। हामी पनि सिर्जनात्मक कार्यतिर लाग्नुपर्छ भनी साथी विक्रम(डुवर्स)
र म, कलम,
खाता लिएर बस्यौँ। त्यसबेला केही थाहा थिएन,
कविता कसरी लेखिन्छ?
कताबाट लेखिन्छ?
तरै पनि सोच्यौँ एउटा कविता सिर्जना गर्ने।
विषयवस्तु
कता हो, शीर्षक कता हो, केही थाहा
थिएन। साथीले बल्लतल्ल एउटा शीर्षक भन्यो “कालेबुङको
माता” । किन हो किन,
यो शीर्षक मलाई मन परेन। के के नमिलेको जस्तो लाग्यो। यसबारे जिज्ञासा राखेँ। वास्तवमा,
उसको भनाइ “धरती माता”
रहेछ अर्थात् कालेबुङका विषयमा कविताको शीर्षक सोचेको रहेछ। यसरी ठट्यौलीझैँ भएपछि हामीबाट कविता लेखिँदैन रहेछ भनेर मन मार्यौँ।
फेरि
एसयुएमआईमा एघारमा हुँदा “सुमाइट” मा
आफ्नो रचना दिनु भनी सूचना आयो। त्यसचोटि पनि धेरै कोसिस गरेँ। (कुनै कुराको जानकारीबिना अथवा कुनै कुराको ज्ञानबिना गर्छु
भन्नु ठट्टा मात्र हुँदो रहेछ) कहाँ हुँदोरहेछ सिर्जना!
व्यर्थै टाउको दुखाइयो। बरु पाठक नै सही।
यस्तै
हुँदै महाविद्यालय पुगियो। त्यहाँ विभिन्न विद्यालयबाट आएका साथीहरूसँग भेट भयो।
तर दुःखको कुरो ‘स्नातक तह’
उच्चारण गर्न धेरै सिक्न पर्यो। 'हामी
नेपाली सम्मानका विद्यार्थी हौँ धेरै कुरा सिक्नुपर्छ। अभ्यास गर्नुपर्छ।'
नागरी(नयाँगढी)का
साथी भन्थे।
अलिअलि
झर्रा शब्दहरू सिक्न थालेँ। “फेरि साहित्य समाजको दर्पण हो”
भन्ने कुराले अन्योलमा
पार्यो। अस्पष्ट थिएँ। अर्को भाषा विषय। साह्रै जटिल फेरि वाद,
सिद्धान्तजस्ता कुरासँग दिमाग साह्रै डराएका थिए।
येनकेन तेस्रो वर्ष पुगियो। यस्तैमा एकदिन साथीको आग्रह- ‘हामी कविता सङ्ग्रह निकाल्नु पर्छ। तिमीले
पन्ध्रवटा, म पन्ध्रवटा, जम्मा
तीसवटाले एउटा सङ्ग्रह भइहाल्छ।’
त्यस
समय सायद चुनौती नै थियो अर्थात् नेपाली साहित्यमा योगदानका निम्ति तेस्रो अवसर
थियो। (त्यसबेलासम्म धेरै
सोच्ने भइसकेको थिएछु। पत्रपत्रिकाका अध्ययनले धेरै कुरा सिकेको साथै जानकारी पनि
पाएको महसुस गरेँ। प्रायः जसो साहित्यमा दखल भएका क्षेत्रहरू-सिटोङ, मङ्पू,
तिस्ताभेल्ली, रङ्ली अनि तक्दाह केन्ट विचार गरेर ल्याउँदा पेसोक त यस विषयदेखि अनभिज्ञ नै पाएँ। फेरि पेसोकदेखि
लप्चु, ग्लेनबर्न, सिङ्रग्रिताम अनि दार्जिलिङ, नागरीसम्म पुग्दा केही गर्नुपर्छ
भन्ने सोच आइरन्थ्यो/आइरहन्छ।)
धेरै
सोचेँ। कसरी लेखुँ, के
लेखुँ?
साथीहरूसँग लालकोठीमा बसाइ
थियो।
एकदिन विद्यालयको पाठ सिद्ध्याएर मालरोड घुम्दै कोठा आयौँ। त्यही मालरोडले एउटा
सिर्जना गरायो ‘प्रेम
र प्रेमीहरू’,
त्यो साँझ साँच्चै लाग्यो, यो
एउटा कविता हो। अर्थात् मेरा कविताको श्रीगणेश।
No comments:
Post a Comment