१) २३ माइला
२३ माइलाको मताइले घरलाई पिरलो भइरहेको थियो…। ऊ
जान्दथ्यो तरै पनि त्यो लतबाट छुट्न भने सकेको थिएन! गलत निर्णयको गलत मार्गले गलत दिशातिर उसलाई खिचिरहेको थियो। केवल
उसले उचित उपाय र संसर्ग भने पाइरहेको थिएन।
एक दिन बिहानै २२ की छोरीले- “छ्याः त्यो काका त के साह्रो मातेको हौ; हिजो र्यालै-र्याल भएर सेँडीको छेउमा पल्टिरहेको थियो।” भन्दै बाऊलाई सुनाउँदै गरेकी २३ ले सुन्यो। ऊ रनक्क रन्कियो तर उसलाई
जाडो जाडो महसुस भयो। अनि गनगनायो- “म जत्तिकै मातऊँ यो गाउँलाई
केको खसखस?”
घरकाले उसको गति देखेर केटी खोजी बिहे गरिदिए कतै
सुद्रन्छ कि भनी विचार विमर्ष गरे। तर यस्तो मत्थुसँग कसले बिहे गर्छ भन्ने कुराले
पनि परिवारमा द्विमत चलिरहेको थियो। यो
उल्झनबाट कसरी मुक्ति पाउने भन्ने उनीहरूलाई भइरहेको बेला कहाँबाट २३ लाई दशा चलेछ। भोलिपल्टै
फ्याट्ट कहाँबाट एउटी केटी भित्र्याइ गाउँलाई झन् सङ्कोचमा पार्यो।
मातेरै भए पनि ऊ छोरीको बाऊ भयो। अनि छोरीको बाऊ
भएपछि, अब उसो उसले नपिउने विचार गर्यो; अर्थात् नमात्ने। तर विचारलाई व्यावहारमा ल्याउन भने कत्ति हो कत्ति गाह्रो
भइरहेको थियो, उसलाई। कताकता, कहीँकहीँ जुरिहाल्थ्यो। अनि भि...त्र
रहेको तुस मार्न अलिकति खाइहाल्थ्यो। खाएपछि मुख जिस्किहाल्थ्यो। मुख जिस्केपछि ऊ
मातिहल्थ्यो। मातेपछि व्यवहार, बेहोरा भइहाल्थ्यो।
अनि कोल्टे परेर घुर्दै सुत्थ्यो। आजै अन्जान स्वास्नी
मगनी गरेर भित्र्याएको जस्तो।
त्यसरी मातेको देखी स्वास्नीले उसलाई घृणा गर्न थाली। घृणा भनेको
लोग्नेको मायाबाट टाढिनु हो भन्ने त उसले सोचेकै थिएन। घृणा गर्दागर्दै उसले
कमानमा आफ्नो व्यथा विसाउने ठाउँ पाउँछु भन्ने पनि पत्याएकै थिएन। उसको पीडाको मलम
भएर कोही आउछँ भन्ने त झन् एक मनमा दुई मन पनि थिएन। तर अहिले त उसले बुझी कि
विस्तारै ‘म’ भन्ने भित्रको अहम पर
पुरुषसँग आकर्षित हुँदैछ। उसको आवाजले पनि आनन्द दिँदैछ। बेलाबेला कर्के नजरले पनि
उसलाई नजिक्याउदैछ। यसैले ऊ सोच्छे-“अरे म के भाको मेरो
लोग्ने छ, एउटी छोरी
छे। हैट, मैले यस्तो गलत काम गर्नु हुँदैन भनेर आफैलाई सम्झाउँथी।” तर मन एकपल्ट अर्कापट्टि
ढल्केपछि पल्किहाल्छ। नबुझेरै बुझ्दैन यो मनले। सोच्दै ऊ मुर्छा पर्थी।
तर फेरि श्यामलाई देखेपछि ‘साँपलाई
न्याउरी काठ’ देखाएको जस्तो हुन्थी ऊ ।
उसलाई पनि थाहै नदी सम्बन्धले गाढा आत्मीयता पायो। बस
एउटा वातावरण चाहिएको थियो, त्यो बुझ्न।
शनिवारको दिन पन्ध्रको खर्च
थापेर बेलुकी भाले
ढुङ्गो तेर्सो श्यामसँग हात गाँसी आउँदै गरेको तल्लो बाटाबाट छोरीले देखी। उसको
अनुहारमा रगत सँगसँगै लाज पनि फैलियो। तर
नजानिदो पाराले ऊ साथीहरूसँग त्यो दृश्यदेखि अदृश्य भई। घरमा पुगेर फ्यात्त झोला
फ्याकी ओछ्यानमा पल्टी। ठीक आधा घण्टा पछि आमा पनि घर आइपुगी। गोहीको आँसुजस्तो
अनुहारमा हेरेर छोरीलाई अवाक भयो। जे भए पनि आमा हो।
अब छोरीलाई घरको मायाले नपुग्ने भयो। बाऊ केही निहु पाउनु हुँदैन, मातिहाल्छ।
अनि आमा त झन् संसारका सबैभन्दा डरलाग्दो लतमा फँसेकी थिई। उसलाई माया र सुसंस्कारको ठिक आवश्यक भएको बेला यी कुरा नै उसले पाउन सकिरहेको
थिएन। अज्ञात र कलिलो उमेरमा उसलाई नराम्रो असर पार्न थाल्यो।
तथापि, बाऊको उसप्रति अघोर माया र स्नेह भए तापनि मातले
गर्दा विस्तारै टाढिन
थाल्यो।
‘वास्तवमा बिहेको अर्थ नबुझी बिहे गर्दा यस्तै हुन्छ।
किनभने बिहे गरेर परिवार बनाउनु मात्र दाम्पत्य जीवनको धर्म होइन। सुसंस्कार र
सुसंस्कृत परिवार बनाउनु अति नै आवश्यक हुन्छ। नत्र सफल जीवन र सफल परिवार नहुन
सक्छ। हेर! २३, आजदेखि
तैँले तेरो बानी सुधारिनस् भने साँच्चै तेरो परिवार गाउँमा नमुना हुन्छ; यसैले मेरो बात मान र परिवारलाई माया र प्रेमले बाँध।’-टाढाकै
भए पनि सानैदेखि साह्रै माया र स्नेह दिने २९ बाजेले सम्झायो।
कान्छाको दोकानबाट चुपचाप निस्किएर घरमुनि पुग्दा मातेकै भए पनि
कताकता हाँसेको आवाज सुन्यो,२३ ले। माथि पुगेर हल्लँदै
भन्सा घरमा हेर्यो; कहिले नदेखेको स्वास्नीको अनुहारको हाँसोले त्यो पल्लो गाउँको
श्यामलाई समेत उज्यालो पारेको देखेर
उसको मनभित्र कटकट खायो। त्यो दृश्य उसलाई सहन नभएर ठूलो घरमा झटारिँदै पस्यो।
ओछ्यानमा छोरी मुखबाट फिँज निकाली अलसतलस भइरहेकी देख्यो। ऊ अवाक भयो!
२) पागल
बिहानै
टनटन घाम लागिरहेको छ। निलो आकासमा। विशेष गरी यो आकासमा घाम लाग्नु भनेको केही
घटना घट्नु हो। प्रद्युमले सोच्दै चारैतिर हेरिरहेको छ।
आहा! ७ बजेछ....प्रद्युमले नाडी हेरेर मनमनै
भन्यो।
हतार
हतार गर्दै सुक्खा रोटी डल्लो पारेर मुखमा हाली चियाले ठेल्यो। अड्केर कक्रक्कै पऱ्यो।
बल गरेर निलेपछि फुत्त घरबाट निस्केर बजारतिर लाग्यो।
बजारको
चिसो हावामा रुमलिँदै नेहरू पथ भएर चौरास्ता पुग्यो। चौरास्ता, त्यो बजारको खुल्ला
मञ्च हो। र त्यहाँ कुनै समय कोही पनि आउन सक्छ। त्यही मञ्चको छेउमा नथमुल छ। ठिक
नथमुलको सामु एउटा खुट्टा चोइटिएको चौकीमा बस्यो। नथमुल, दार्जीलिङ चिया बेचबिखन
गर्ने दोकान हो। त्यहाँ चियाका परिकार पाइन्छन्।
ऊ
त्यहाँ बसेर सर्वाङ्ग देखिने दृश्यतिर विचरण गर्नथाल्यो। मस्त भएर दृश्यावलोकन
गर्दैगर्दा उसकै छेउबाट गनाउने कम्बल ओढेको पागल पार भयो।
उसको
दृष्टिले पागललाई पछ्याइरहेको थियो। चिया... भनेर चियावालाले जोरले कराउँदा ऊ झसङ्ग
भयो। चियावाला, यहाँको पक्का नागरिक नभए पनि चिया बनाएर खुवाउनु उसको रोजीरोटी हो।
चिया खाँदै प्रद्युमले सोचिरहेको
छ......। पागल?............;
.....?
सोचिरहेको
छ। बस सोचिरहेको छ।
अहिले
पनि प्रद्युमले सोचिरहेको छ....... पागल.....?
३) पासिबे
पियाइको
निरन्तरताले पासिपेको स्वस्थमा केही विकार आएको थियो। डाक्टरले उसलाई चेताउनी
दियो- ‘अब अलिक रक्सीको मात्रा बढे तिमी रहँदैनौ।’
बेलुकी घरमा
आएर भात खाइवरी मासिमा र पासिपे सुते। मासिमाको छेउमा सुतेको ऊ लकलक काम्दै
थियो। मासिमाले चाल पाई, शरीरमा रक्सीको मात्रा ज्यादा
भएर हो। मासिमा डराउँदै फेरि चुपचाप सुती।
बिहान भयो, पासिपे घरमा छैन। मासिमालाई राती भनेको कुरा याद आई- ‘डाक्टरले त मेरो जीवनको
अन्तिम दिन तोकिसक्यो अब मेरो लागि भोलि हुनुको केही महत्त्व रहेन।’
मासिमा हतारहतार च्याङ्बाको दोकानतिर लागी।
पासिपेले
देख्यो, उसकी मासिमा आउँदैछे। अनुहारमा भय र सङ्कोचका केही रेखाहरू किरिङमिरिङ
भइरहेको छ तरै पनि ऊ अलिक नजानिँदो सचेत हुनखोज्यो। स्वास्नी छेउमा आइपुग्दा
मुखबाट निस्कन नसकेको भक्कानोले अनुहारको रङ्ग परिवर्तन गर्दै आँखाबाट आँसु
खसाल्दा पक्कै भेटेछु भन्ने नमिठोपनले आँखा स्वतः बन्द भयो। केही गल्याङमल्याङ
हल्ला मच्चियो। मान्छेहरू हतारपतार गर्दै भेला भए। पुरा खलबल मच्चियो।
अन्ततः मासिमाको ग्लाँग्वाँ रुवाइले तरङ्ग भएर
उसले आँखा उघार्यो। वरिपरि मान्छेले घेरेको भीडभित्र हेर्यो। अनि एउटा मुर्दालाई
अङ्गालो हाल्दै रोइरहेकी उसले आफ्नी मासिमा देख्यो।
४) मनु अन्ना
कल्पनामा
बसिसकेको, दृष्टिमा अडिसकेको भन्दा बेग्लै खालको कालो वर्ण भएको कन्नडियन मान्छे। कालोमा
अकालो, उसलाई मनु अन्ना भनेर बोलाउँछन् सबै जनाले।
स्वभाविक
मान्छे। वैकल्पिक हाँसो नभएको, प्रगति र समयको उज्यालोले अँध्यारोमा पारेको मान्छे
हो मनु अन्ना। यसैले, ऊ हास्नुबित्तिकै उसको मुखबाट सहरको दुर्गन्ध आउँछ। अनुहारमा
गाउँको निष्पट अँध्यारो छाउँछ। आँखामा उत्कट इच्छाका तरल छछल्किरहन्छ।
दिनहुँ
खाजा खानु जाँदा डोमा र उसको भेट हुन्छ। बिहारी मेसमा। ती भेटहरूले मनोज, सोनु,
चाचा, अक्लु अनि अनिल सबैसँग महत्त्व नराखे पनि मनु अन्नासँगको महत्त्व केही अलग छ।
सानो
मेस हो बिहारी। कामको अनुभव र योग्यता हेरेर सायद सबैलाई आ-आफ्नो काम दिइएको छ।
उसले डोमा र अन्यलाई पानी अनि गिलासको व्यवस्था गरिदिन्छ। अनि फेरि टेबलको पल्लो
छेउमा राखिइएको फ्रिजको ऐनासामु उभिन्छ। उसको त्यो स्थायी जगा हो उभिनलाई।
बेलाबेला
अरूले नभ्याउँदा उसलाई सब्जी, दाल, रसम अनि दही माग्छ तर उसको अज्ञानताले गाली
बाहेक अरू के नै पाउन सक्छ र! के गरोस् ‘दुध दिने गाईको लात पनि त सहन पर्छ।’ त्यस्तो दिनहुँ देखिरहँदा डोमालाई नमिठो लाग्छ।
नमिठो
लाग्नु स्वभाविक हो, दया देखाउनु मानवता हो, संस्कार बाँड्नु शिक्षा हो। किनभने
मनु र डोमामा यही कुराका फरक छन्।
एक
दिन अचानक मनु अन्ना बिहारीमा आएन। अर्को दिन हुँदैहुँदै धेरै दिन बिते तर उसको
उपस्थिति त्यहाँ रहेन।
ऊ
नआउनुको कारण डोमाले बुझ्न सकेन। कसैले बुझ्न चाहेन, पनि। सायद बुझ्नु भनेको कसैको
जिनदगीको वास्ता गर्नु हो अनि त्यो वास्ता भनेको आफ्नो जिन्दगीको समस्या हो।
त्यसैले मिलन र बिछोड भइरहने जिन्दगीमा कति जनाले कति जनाको वास्ता गरोस्।
मुस्किलै छ! ऊ त्यहाँ
नहुनुको प्रश्न होइन, ऊ हुनुको उत्तर पनि होइन। तर उसको सुनसान अनुहारले
जन्माइरहने प्रश्नको प्रश्न हो। सधैँ खट्किरहने। डोमामा।
भोलिपल्ट
छुट्टिको दिन बिहानै बिहारीको परोटा खान जाँदै थिइ डोमा। सडकको तल्लो छेउमा रहेको
सानो चिया दोकानमा मनु अन्ना ‘स्वामी अइयप्पा, स्वामी अइयप्पा’ गाउँदै अनुहारभरि
हाँसो लिएर झाडु लगाउँदै थियो।!
कहिले
नदेखेको मनु अन्नाको अनुहारमा हाँसो देखेर डोमा पनि खुसी हुँदै उतैतिर लागी।
रूपेश राई
पेशोक, दार्जिलिङ
No comments:
Post a Comment